उपमहानगरलाई कमिशन आतंक र परिवारवादबाट छुटकारा दिने हिराको प्रतिवद्धता

जनकपुरधाम, २२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका उम्मेदवार शिवशंकर साह हिराले उपमहानगरलाई कमिशन आतंक र परिवारवादबाट छुटकारा दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसअघि जनप्रतिनिधिले उपमहानगरलाई परिवारवाद र कमिशनको अड्डा बनाएकाले विकासका कामहरु हुन नसकेको आरोप लगाउँदै हिराले त्यसको अन्त्य गर्ने बताएका हुन् ।
बिहीबार वडा नम्बर–१७ स्थित तेतरिया, कनकपट्टी र मनहरपुरमा उपप्रमुख पदकी उम्मेदवार रुना झासँगै घरदैलोमा पुगेका साहले ग्रामीण वडाको विकासलाई प्राथमिकतामा राख्ने बताए ।
जनकपुरधामलाई धार्मिक पर्यटकीय शहरको रुपमा विकास गर्ने प्रतवद्धता व्यक्त गर्दै उनले जनकपुरधाममा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकोले यहाँका मठ मन्दिरलाई व्यवस्थित गर्नुका साथै सौन्दर्यीकरणमा जोड दिनु आवश्यक रहेको बताए ।
उनले यसअघि मठ मन्दिरको जग्गा अतिक्रण हुनुका साथै भ्रष्टाचार समेत भएकाले त्यसलाई निर्मूल पार्न आफूले काम गर्ने बताए ।
जनकपुरधाम हिन्दुहरुको आस्थाको केन्द्र रहेकाले आफू निर्वाचित भए विश्वभरीका हिन्दुहरुलाई जनकपुरधामसंग जोड्नका लागि योजनावद्ध रुपमा काम गर्ने हिराले प्रतिवद्धता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


