काठमाडौं, २२ बैशाख । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको जनाएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत आयोगले यस्तो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जानकारी दिए ।

उनले वैशाख ३० गते हुने निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थाबाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थाबाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको बताए ।

प्रवक्ता पौडेलले मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीलाई अनिवार्य रुपमा आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश दिएको पनि जानकारी गराए । त्यस्तै, उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आयोगले लिखित जवाफ पेस गर्न आदेश दिएको बताए ।

मुख्यमन्त्री भट्टले कैलाली जिल्लाको कैलारी गाउँपालिका– ७ विपद्पुरका अग्निपीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भन्ने अभिव्यक्ति दिएकाले निर्वाचन आचारसंहिता २०७८ को व्यवस्था बमोजिम २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न अनुरोध गरेको हो ।

त्यस्तै, अन्य विभिन्न पार्टीका नेता तथा स्थानीय तह सदस्यका उम्मेदवारलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण दिन आदेश दिएको छ ।

प्रवक्ता अधिकारीले निर्वाचन आयोगबाट हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३७ व्यक्ति तथा राजनीतिक दलहरूलाई स्पष्टीकरण सोधेको पनि अवगत गराए ।