काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितले सिंगो महिला जगतको अपमान गरेको टिप्पणी गरेका छन् ।

सार्वजनिक मञ्जमा बोल्ने क्रममा एमाले उम्मेदवार स्थापितले महिलाको अपमान गरेको भन्दै उनले भने,‘सूर्यमा मतदान गर्ने महिलाहरुको पनि अपमान हो । स्वयं उहाँकै उपमेयरको उम्मेदवारको पनि अपमान हो ।’

एमालेले काठमाडौंमा उपमेयरको उम्मेदवार सुनीता डंगोललाई बनाएको छ । स्थापितले चुनावी कार्यक्रमहरुमा गरेको भाषणलाई थापाले ‘हेट स्पिच’ को संज्ञा दिए ।

महिला हिंसाको आरोपबारे प्रश्न उठाउँदा गत हप्ता स्थापितले प्रश्नकर्तामाथि अपमानजनक टिप्पणी गरेका थिए ।

बिहीबार काठमाडौं महानगरका क्रियाशील सदस्यको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले ०७४ को निर्वाचनदेखि हालसम्मको पाँच वर्षको समय खेर गएको जिकिर गरे ।

पाँच वर्ष खेर गएकाले त्यसको जिम्मेवारी एमालेले लिनुका साथै दण्डको भागीदार पनि हुनुपर्ने उनले बताए । २०४८ सालमा गरेको गल्तीका कारण कांग्रेसले २०५१ को निर्वाचनमा मतदाताबाट दण्ड पाएको भन्दै थापाले पाँच वर्ष खेर फालेकामा एमालेले दण्ड पाउनुपर्ने बताए ।