फोहोरलाई मोहरमा बदल्ने अभियान सञ्चालन गर्छु : जानकीराम साह

जनकपुरधाम, २२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार जानकीराम साहले प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।
बिहीबार पत्रकार सम्मेलनको आयोजन गरी स्वतन्त्र उम्मेदवार साहले ११ बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै उनले रामस्वरूप रामसागरले जनकपुरधामलाई शिक्षाको केन्द्र बनाउनका लागि गरेको योगदानलाई सम्मान गर्दै गुणस्तरीय शिक्षाको लागि आफूले सदैब सम्बन्धित पक्षसँग समन्वय गर्ने बताए ।
यस नगरमा रहेका सबै शैक्षिक संस्थाहरुसँग समन्वय गरेर वार्षिक कार्यक्रम बनाउने सरस्वती, जानकी, संकटमोचन, ज्ञानकुपजस्ता पुरानो विद्यालयहरुलाई पुनः पहिलेको जस्तो राम्रो अवस्थामा पुर्याउन एक विशेष योजना बनाइने साहले प्रतिवद्धता जनाए ।
साहले आफ्नो प्रतिवद्धता–पत्रमा आफू निर्वाचित भएपछि असहाय र गरिब विद्यार्थीहरुका लागि विशेष छात्रवृति योजना ल्याउने, गरीबहरुले स्नातक उतिर्ण गरेपछि रोजगारी सुनिश्चित गर्न जनकपुरधाम उपमहानगरपालिकाले विशेष कार्यक्रम ल्याउने, अवकाश प्राप्त ज्येष्ठ नागरिक र महिलाहरूको लागि निःशुल्क अध्ययन स्थलको रुपमा ५ वर्षभित्र प्रत्येक वडामा सार्वजनिक पुस्तकालयको स्थापना गर्ने, शैक्षिक संस्थाको मातहतमा रहेका सम्पतिहरूको सूचीकरण गरी वार्षिक विवरण प्रकाशन गरिने, शिक्षकहरुको वार्षिक विवरण तयार गरेर सबैको भूमिका र योगदानको उचित सम्मान गर्नेलगायतका बुँदाहरु समावेश गरेका छन् ।
त्यस्तै, नगरका सबै नागरिकहरुलाई स्वास्थ्य बिमा गराउन अनुरोध गर्दै आवश्यक समन्वय गरिने, हरेक घरको स्वास्थ्य सम्बन्धी जानकारी राख्ने, आवश्यक स्वास्थ्य सेवाको लागि हरेक टोलमा युवा र महिलालाई समावेश गराएर स्वास्थ्य स्वयमसेवक परिचालन गर्ने, नगरमा बेरोजगार महिलाहरुको समूह बनाएर स्वास्थ्य र स्वच्छ समाजको लागि तालिम प्राप्त अभियन्ता बनाइने, मधुमेह र बाथ रोगका रोगीहरुलाई निःशुल्क औषधी वितरण गरिने योजनाहरु साहले आफ्नो प्रतिवद्धता–पत्रमा समावेश गरेका छन् ।
नगरका आवश्यक स्थानहरुमा सिसिटिभी क्यामेरा जडान गरिने, मठ, मन्दिर, मस्जिद र धर्मशाला क्षेत्रमा अनिवार्य रूपमा विशेष सुरक्षा योजना ल्याइने, आफू निर्वाचित भएको ६ महिनाभित्र डम्पिङ साइटको व्यवस्था गर्ने, नियमित फोहोर संकलन तथा व्यवस्थापन, ढल निकास, फोहोर सङ्कलनको व्यवस्थित तरिका र बोट, बोट बिरुवा रोप्ने काम गर्नुका साथै सांस्कृतिक क्षेत्र मठमन्दिर, मस्जिद क्षेत्रको सरसफाइमा विशेष ध्यान दिने, सहर भित्रको पोखरी सफाइको लागि पोखरी व्यवस्थापन समितिको स्थापना गरेर सबैको सफाइको लागि बजेट छुट्टयाउने, नगरको २५ वटै वडाहरुमा सफाइ अभियान सञ्चालन गरेर वार्षिक प्रतिस्पर्धा गरिने, अवकाश प्राप्त नागरिकहरुलाई सफाइ अभियान बनाएर जिम्मेवारी दिई अवकाश प्राप्तहरुको लागि आम्दानीको बाटो पनि बनाउनुका साथै फोहोरलाई मोहरमा बदल्ने अभियान सञ्चालन गरिने योजनाहरु उनको प्रतिवद्धता–पत्रमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा साहले आफू निर्वाचित हुँदा पुरानो व्यवसायिक व्यक्तिहरुमा रहेको व्यवसायिक सिपलाई नयाँ पुस्तामा हस्तान्तरण अभियान सञ्चालन गर्ने, स्थानीय महिलाहरुलाई सिप सिकाउने र आफै केही व्यवसाय सञ्चालन गराउने उद्देश्यले महिला स्वरोजगार अभियान सञ्चालन गराइने, मिथिला पेन्टिङ, डाकी छिटो, माठाजस्तो स्थानीय उत्पादनलाई प्रदर्शन गरेर स्थानीय स्वरोजगारलाई बढावा दिने काम गर्ने धारणा राखे ।
उनले खेलकुद क्षेत्रमा जनकपुरधाम कुनै बेला देशैभर प्रख्यात रहेपनि अहिले त्यो गुमाएको अवस्था रहेकोले अबदेखी जनकपुरधाम उपमहानगरपालिकाको बजेटमा प्रमुख सबै खेलहरु क्रिकेट, फुटबल, हक्की, कुस्ती, टेबल टेनिस र एथलेटिक्सको टोली बनाएर आवश्यक स्रोतको व्यवस्था गर्दै हरेक खेलको कम्तीमा एउटा राष्ट्रिय प्रतियोगिता आयोजना गरिने बताए ।
जानकी मन्दिरलाई यथाशीघ्र विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि विशेष पहल गर्नुका साथै जनकपुरधाम उपमहानगर भित्रका सबै मठमन्दिरको संरक्षणका लागि स्थानीयलाई नै सक्रिय बनाउने उद्देश्यले अलग अलग समूह बनाएर संरक्षण र प्रवद्र्धनको जिम्मा दिइने उनले बताए ।
सबै मठमन्दिर, मस्जिदको इतिहासको अभिलेख राखेर विद्यार्थीहरुलाई जानकारी गराइने उनले बताए । जनकपुरधामको एक पर्यटन नक्सा बनाएर नेपाल र भारतको प्रमुख शहरहरुमा प्रचारप्रसार गर्नुका साथै पर्यटन प्रवद्र्धनको उद्देश्यले वार्षिक रूपमा जनकपुरधाम पर्यटन उत्सव आयोजना गरिने साहले प्रतिवद्धता जनाए ।
जनकपुर रेल्वे स्टेसन, एयरपोर्ट, बसपार्क, जानकी मन्दिरलगायतको स्थानहरुमा पर्यटक सूचना केन्द्रको स्थापना गरि युवाहरुलाई पर्यटन स्वयमसेवकको रुपमा रोजगारी दिने, विगतको केही वर्षदेखी जनकपुरधाम उपमहानगरपालिका भ्रष्टाचारमा निक्कै बदनाम भएकोले त्यसलाई नियन्त्रण गर्ने र सुधार गर्ने उद्देश्यले साता विवरण प्रकाशन गरिने, उपमहानगरपालिकाको सबै एरियामा सिसिटिभी क्यामेरा लगाएर कार्यालय समयको सबै गतिविधि फेसबुक लाइभ गरिने, सुशासनको कुरामा शून्य सहनशीलता अपनाउने उद्देश्यले सबै प्रक्रियालाई डिजिटल गरिने, निर्वाचित प्रतिनिधिको व्यक्तिगत वा दलको कुनै पनि कामको लागि उपमहानगरपालिकाको स्रोत साधन प्रयोग गर्न नदिने साहको प्रतिवद्धता–पत्रमा उल्लेख छ ।
कर तिर्नको लागि डिजिटल भुक्तानी माध्यमबाट भुक्तानी गर्न मिल्ने व्यवस्था गरिने, जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्तालाई डिजिटल माध्यमबाट निःशुल्क गर्न मिल्ने व्यवस्था गरिने, ज्येष्ठ नागरिकको हकमा कुनै पनि काम परे उपमहानगरको कार्यालय आउन नपर्ने र उपमहानगरपालिकाको स्वयमसेवक नै घरमा पुग्ने, दाउरा प्रयोग हुने गरीबको चुल्हामा ग्यास सिलिन्डर विस्थापन गरिने, गरिब दलितहरुलाई फ्ल्याट सिस्टम अनुसार आवास निर्माण गरिने, गुठीको जग्गाको स्थायी व्यवस्थापन गरिने र उचित जग्गा धनीहरुलाई लाल पुर्जा उपलब्ध गराइने उनले बताए ।
पत्रकार सम्मेलनमा साहले एक नागरिक एक रुखको अभियान सञ्चालन गरेर हरेक वर्ष वार्षिक बृक्षारोपणको कार्यक्रम ल्याएर उपमहानगरपालिकालाई हरित क्रान्तिको सहरको रुपमा परिचित गराउने अभियान सञ्चालन गरिने, परिक्रमा सडकलाई मौनी बाबाको परिकल्पनालाई पुर्नजीवित गर्दै पूर्ण रूपना ग्रिन बेल्ट बनाइने र सडकमा देखिने चौपाया व्यवस्थापनका लागि जथाभावी पार्किङको समस्या समाधान गरि उपलब्ध सार्वजनिक स्थलहरुमा पार्किङस्थलको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


