जनकपुरधाम, २२ बैशाख । धनुषामा एक समूहले वडा सदस्य पदका एक उम्मेदवारसहित दुई जनामाथि आक्रमण गरेको छ ।

जिल्लाको कमला नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादव र नेकपा एमालेबाट वडा सदस्य पदका उम्मेदवार हरेराम मण्डलमाथि एक समूहले आक्रमण गरेको हो ।

घरमा सुतिरहेको बेला बुधबार राति चन्द्रनारायणमाथि धारिलो हतियारले आक्रमण गरिएको छ । आक्रमणबाट घाइते भएका उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उम्मेदवार सर्वदेवमाथि आक्रमणको प्रयास विफल भएपछि उनका बुवामाथि नै आक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

घाइते चन्द्रनारायणले भने, ‘म घर बाहिर सुतिरहेको बेला उनीहरुले मेरो छोरा सर्वदेवलाई खोज्दै आएका थिए । सर्वदेवलाई नदेखेपछि उनीहरुले ममाथि नै आक्रमण गरे ।’

उनले गाउँकै किशुन यादव, राजकुमार यादव, शम्भु मण्डल, विन्देश्वर यादवसहितका व्यक्तिहरुले आफूमाथि रड, लाठी र खुकुरीले आक्रमण गरेको बताए ।

सोही वडामा नेकपा एमालेको तर्फबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि पनि आक्रमण गरिएको छ ।

घरमा सुतिरहेको अवस्थामा आएका व्यक्तिले आफूमाथि आक्रमण गरेको मण्डलले बताए । घाइते मण्डलको टाउको, खुट्टासहितका ठाउँमा रडले प्रहार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले घटनाबारे जानकारी आएलगत्तै अनुसन्धान भइरहेको बताए ।

उनले आक्रमण गर्ने व्यक्तिहरुको प्रहरीले खोजतलास गरिरहेको जानकारी दिएका छन् ।