ल्याण्डफिल्ड साइटको व्यवस्था गरी जनकपुरधामलाई फोहोरमुक्त शहर बनाउँछौ : मनोज चौधरी

जनकपुरधाम, २१ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार मनोज चौधरीले आफू कार्यकाल सम्हाले लगत्तै ल्याण्डफिल्ड साइट निमार्ण गर्ने तर्फ अग्रसर हुने बताएका छन् ।
बुधवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२१ स्थित कुर्थामा घरदैलो अभियान सञ्चालनको क्रममा कुर्थावासीसँग कुराकानी गर्दै चौधरीले जनकपुरधाममा फोहोर व्यवस्थापन कमजोर रहेको अवस्थामा ल्याण्डफिल्ड साइट निमार्ण गरि जनकपुरधामलाई फोहरमुक्त बनाउने बताएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जनकपुरधामका नगर अध्यक्ष समेत रहेका चौधरीले जनकपुरधाम धार्मिक तथा पर्यटकिय शहर समेत भएकोले त्यसलाई मध्यनजर गर्दै जनकपुरधाममा जानकी मन्दिरसम्म निशुल्क बस सञ्चालन गर्ने बताए ।
जनकपुरधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि यस क्षेत्रको बढावाका लागि जनकपुरधामको रेल्वे स्टेशन, विमानस्थल र बसपार्कबाट जानकी मन्दिरसम्म निशुल्क बस सञ्चालन गर्ने बताए ।
जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गर्दे आएका चौधरीले बुधवार कुर्थाटोलको घरघरमा पुगेर मतदातासँग भेटघाट गरेका थिए ।
घरदैलो कार्यक्रममा उपमेयर पदकी उम्मेदवार रिता कुमारी मिश्र, लोसपा प्रचार प्रसार समितिका अध्यक्ष तथा युवा नेता संजय चौधरी, अमर पजियार, सरिता शर्मा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


