उपमहानगरमा भ्रष्टाचारीहरुका लागि कुनै स्थान रहन दिन्न : शिवशंकर साह

जनकपुरधाम, २१ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार शिवशंकर साह हिराले जनकपुरधामको सर्वांगिन विकासका लागि सल्लाहकार समितिको सुझाव अनुसार काम गर्ने बताएका छन् ।
बुधबार जनकपुरधाम–१२ कुवा रामपुरमा उपप्रमुख पदकी उम्मेदवार रुना झासँगै घरदैलोका लागि पुगेका हिराले विज्ञहरुको टोली सहितको सल्लाहकार समिति बनाएर सर्वांगिन विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले भने, ‘शिक्षा, स्वास्थ्य, कृषि, भौतिक संरचना निर्माण लगायतको विकासका कामहरुका लागि सबै क्षेत्रका विशेषज्ञहरुको समेटेर सल्लाहकार समिति गठन गर्छु, सो समितिकै सल्लाह अनुसार काम गर्छु ।’
यसअघिका जनप्रतिनिहिरु कामभन्दा कमिशन तथा भ्रष्टाचार गर्नमै लिप्त रहेकाले बजेट हुँदाहुँदै पनि विकास हुन नसकेको उनले आरोप लगाए । तर यदि आफू नगरप्रमुखमा निर्वाचित भए जनकपुरधाम उपमहानगरको कार्यालय सहित उपमहानगरभित्रका कार्यालयहरुमा भ्रष्टाचारीहरुका लागि कुनै ठाउँ रहन नदिने प्रतिवद्धता व्यक्त गरे ।
हिराले चुनावी प्रचारप्रसारको क्रममा खेल क्षेत्रको विकासका लागि समेत योजनावद्ध ढंगले काम गर्ने बताए । युवाहरु कुलतको शिकार हुँदै गईरहेको समयमा खेलकुद क्षेत्रको विकासमा जोड दिदै जनकपुरधाममै स्टेडियम निर्माण गर्ने हिराको भनाई थियो । यसका साथै खेलाडीहरुलाई सम्मान तथा पुरस्कारको व्यवस्था समेत गरिने उनले बताए ।
नगरप्रमुखका उम्मेदवार हिराको उम्मेदवारीको समर्थनमा जनकपुरधाम उपमहानगर भित्र मोटरसाइकल रैली समेत निकालिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


