जनकपुरधाम, २१ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधामको नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले आफू निर्वाचित भए उपमहानगरको कार्यालयलाई राजनीतिको अखाडा बन्न नदिने प्रतिवद्धता जनाएका छन् ।

उपमहानगरपालिकालाई राजनीतिकको अखाडा बनाइएकोले विकास त भएन, त्यसमाथी भ्रष्टाचार मौलाउँदै गईरहेकाले राजनीतिको अखाडा बन्न नदिने महतोको भनाई छ । यद्यपि वडाध्यक्षहरु कुनै पार्टीबाट निर्वाचित भएपनि कुनै वडाध्यक्षसंग भेदभाव नगर्ने महतोले बताए ।

उनले भने, ‘वडाध्यक्षको उम्मेदवारहरु समेत वडा वडामा वचनवद्धता गरिरहेका होलान् उनीहरुको वचनवद्धता पूरा गर्न म सदैव तत्पर रहने छु ।’

महतोले जनकपुरधामको विकासका लागि असल अभिभावकको चुनाव गर्न मतदाताहरुसंग आग्रह गरे ।

बुधबार वडा नम्बर–१ र ९ मा घरदैलोका लागि पुगेका महतोले उपमहानगरलाई राजनीतिको अखाडा बनाइएकोले विकास निर्माणका कार्यहरु बाधित हुँदै आईरहेको बताए ।

उनले आफू निर्वाचित भए उपमहानगरमा राजनीतिक खिचातानीको हावा लाग्न नदिने प्रतिवद्धता व्यक्त गरे । कुनै राजनीतिज्ञभन्दा राम्ररी विकास निर्माणका कार्यहरु अगाडी बढाउन सक्ने उनको दावी थियो ।

उनले भने, ‘म निर्माण व्यवसायको पृष्ठभूमिबाट आएको व्यक्ति । मसँग कन्स्ट्रक्सनको अनुभव छ, मलाई जनकपुरधाम को विकास गर्ने ठूलो धोको छ । जनकपुरधाममा एडिवी परियोजना अन्तर्गत भएको सडक तथा ढल निर्माण कार्य, नेपाल रेल्वेको लिक निर्माण मैले नै गरेको छु ।’