जनकपुरधाम, २१ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार अजय यादवले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

बुधबार लक्ष्मिनिया गाउँपालिका–२ सोहनी सिनुरजोडा र वडा नम्बर–३ बनिगामामा घरदैलाका लागि पुगेका यादवले पालिका भित्रका विद्यालयहरुको अवस्थामा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले विद्यालयको सुधारसँगै विद्यालय बाहिर रहेका अति विपन्न तथा गरिब परिवारको बालबालिकालाई विद्यालयसम्म पुर्याउने वातावरणको निर्माण गर्ने बताए ।

उनले भने, ‘मलाई गाउँपालिकाको विकास कसरी गर्न सकिन्छ म संग खाका छ, मलाई एक पटक अवसर दिएर हेर्नुस ।’

यादवले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायत सबै क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफु जिते गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने, पालिका भित्र ‘समान शिक्षा र सुलभ स्वास्थ्य उपचार सबैका लागि’ अभियान, कक्षा ८ देखि प्राविधिक क्षिक्षाको शुरुवात, प्रत्येक वडामा स्मार्ट शौचालयको स्थपना, पालिकामा रहेका अतिविपन्न परिवारको पहिचान गरि रासन वितरण गर्ने कार्यक्रम लागु गर्ने लगायतका प्रतिबद्धता जनाए । यसका साथै वृद्ध वृद्धाहरुलाई समयमै सामाजिक सुरक्षा भत्ता सुलभ ढंगले पाउन सक्ने वातावरणको निर्माण गर्ने बताए ।