काठमाडौं, २१ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक तर्फको उडान सञ्चालनमा आएको छ । विमानस्थलमा शंकास्पद बस्तु राखिएको हल्ला चलेपछि विमानस्थल बन्द गरिएको थियो ।

सुरक्षा निकायले गरेको सर्च अप्रेशनबाट केही फेला नपरेपछि विमानस्थलको आन्तरिक हवाई उडान सुचारू भएको विमानस्थल प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए ।

‘शंकास्पद वस्तु राखेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि हामीले सर्च गर्यौं । सर्च गर्दा केही पनि फेला परेन । अहिले सबै उडान सुरु भइसकेका छन्,’ ढकालले भने ।

बुधबार बिहान अज्ञात व्यक्तिले एक्सचेन्जमा फोन गरेर विमानस्थलमा बम राखिएको जानकारी दिएका थिए । त्यसपछि सुरक्षा निकायले यात्रुहरूलाई बाहिर पठाएर सर्च अप्रेशन चलाएको थियो ।