हंसपुरलाई नमूना नगरपालिका बनाउने मण्डलको प्रतिवद्धता

जनकपुरधाम, २० बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा धनुषाको हंसपुर नगरपालिकामा लोसपा नेपालबाट मेयर पदका उम्मेदवार रामज्ञान मण्डलले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
मंगलबार वडा नम्बर–६ र ९ मा उपप्रमुख पदकी उम्मेदवार दिपिका सदासँगै घरदैलोमा पुगेका उनले हंसपुर नगरपालिकालाई विकासको रुपमा नमूना नगरपालिका बनाउने प्रतिबद्धता जनाएका हुन् ।
प्रत्येक जनताको घरघरसम्म पुगेर ज्येष्ठ नागरिकसँग आर्शिवाद थाप्नुका साथै युवाहरुको सहयोग सद्भावको वचनबद्धता लिदैं नगरपालिकालाई देशमै नमूना नगरपालिकाको रुपमा स्थापित गर्न नितीगत योजनाहरु अघि बढाउने प्रतिबद्धता जनाए ।
मण्डलले भने, ‘मेरो पहिलो कार्यकालमा यस नगरपालिकामा बाटोघाटो, सिंचाई, शिक्षा र स्वास्थ्यमा अपेक्षा अनुसार प्रगति हुन नसकेपनि अन्य क्षेत्रको भने धेरै विकास भएको छ ।’

आफू मेयर रहेको बेला विकास मात्रै नभई जनताको हरेक सुख दुःखमा साथ दिएको उनले दाबी गरे ।
घरदैलोको क्रममा मण्डलले अब नगरपालिकामा टुक्रे योजना नभई अर्थोपार्जनका नितीगत दिर्घकालिन विकासका योजनाहरु अघि बढाउने प्रतिबद्धता जनाए ।
उनले आफूले पहिलो कार्यकालमा गर्न नसकेका कामहरु जस्तैः वैदेशिक रोजगारीमा जाने युवाहरुलाई आवश्क सीपको व्यवस्था, नगर बसको व्यवस्था, कृषि भण्डार सहितको आधुनिक बजारको व्यवस्था आदिका लागि पुनः निर्वाचित भएपछि गरेरै छाड्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


