जनकपुरधाम, २० बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार शिवशंकर साह हिराले कृषिमा आधुनिकिकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलबार वडा नम्बर–१८ महुवा र भोइलमा उपप्रमुख पदकी उम्मेदवार रुना झासँगै घरदैलोमा पुगेका हिराले जनकपुरधाममा कृषिलाई आधुनिक प्रविधिसँग जोडेर रोजगारी सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

किसानले उत्पादन गरेको सामग्रीको उचित मूल्य पाउन नसकेको समयमा हिराले कृषिलाई आधुनिक प्रविधिसँग जोडेर रोजगारी सिर्जना गर्ने बताए ।

उनले भने, ‘किसानहरुले उत्पादन गरेको सामग्री उचित मूल्य पाउन नसक्नुको मूल कारण विचौलियाहरुको आतंक हो । म निर्वाचित भईसकेपछि विचौलियाहरुको आतंकलाई समाप्त पार्नेछु ।’

उनले किसानहरुको उत्पादनलाई बजारसम्म पुर्याउन तथा उचित मूल्यको व्यवस्थापनका लागि पहल गर्ने बताए ।

घरदैलोको क्रममा उनले मतदाताहरु समक्ष सामाजिक सुरक्षा भत्ता सहज र सुलभ रुपमा वितरणको व्यवस्था मिलाउने बताए ।

उनले अहिले बृद्ध बृद्धाहरुले पाउने सामाजिक सुरक्षा भत्ता मासिक ४ हजार रुपैयाँलाई समन्वय गरेर ५ हजार पुर्याउन पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।