बझाङ, २० बैशाख । प्रहरीले एक युवकलाई एक किलो सुनसहित बाँकेबाट पक्राउ गरेको छ ।

जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाश पिमीका २८ वर्षीय अशोकबहादुर सिंहलाई बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका–२ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित सिंहलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबट खटेको संयुक्त प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहको अवस्थामा सिहंलाई नियन्त्रणमा लिएको थियो । प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा प्रहरीले पिछा गरेर उनलाई पक्राउ गरेको थियो ।

सिंहले बोकेको कालो रङको झोलाभित्र खानतलासी गर्दा सुनबाट निर्मित विभिन्न गहना बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हार, मंगलसूत्र, बाला, दाना, झुम्की, रामलीला, झाला, ब्रासलेट, कानपासा, औँठी, टप, फुली, टुक्राहरू पत्थर र मालासहित विभिन्न प्रकारका गहना तौल गर्दा ८०२ ग्राम ७३ मिलीग्रामका सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गहनाको अन्दाजी मूल्य ६२ लाख बराबरको रहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सिंहले यही वैशाख ४ गते भारतको बैङ्गलौरस्थित सुन पसलबाट चोरी गरेको बुझिएको छ । यसका लागि भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।