उदयपुर, २० बैशाख । उदयपुर सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतविरुद्ध उजुरी परेको छ ।

बस्नेतले सरकारी बक्यौता तिर्न बाँकी रहेको भन्दै उम्मेदवारी खारेजी गर्न माग गर्दै एमालेका त्रियुगा नगरपालिकाका मेयरका उम्मेदवार भागवत राउतले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

बस्नेतले उम्मेदवारी दर्ता गराएर अन्तिम नामावलीसमेत प्रकाशन भइसकेको छ । निर्माण व्यवसायीसमेत रहेका बस्नेतले एपेक्स इन्द्रेणी जेभिको नामबाट कारोबार गर्दा आन्तरिक राजश्व कार्यालय लहानमा मूल्य अभिवृद्धि कर भ्याट बक्यौता रहेको दाबी उजुरीमा गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय लहानले कर बक्यौता दाखिला गर्न गत २७ चैत २०७८ मा १५ दिने सूचना प्रकाशित गरेको थियो । सो अवधिमा समेत कुनै पनि फर्म सम्पर्कमा नआएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत राजकुमार खतिवडाले बताए ।