जनकपुरधाम, २० बैशाख । मुस्लिम समुदायले आज ईद पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।

समूहमा मनाइने यो पर्व दुई वर्षदेखि कोभिड महामारीका कारण मनाउन सकिएको थिएन ।

यो वर्ष कोभिड सामान्य भएसँगै आज एकआपसमा खुसी साँटासाँट गरी ईद (ईद–उल– फित्र) देशविदेशमा मनाइँदैछ ।

ईद मुस्लिम समुदायको पवित्र महिना तथा कुरआन अवतरण भएको महिना रमजान (रोजा) सकिएपछि मनाइने पर्व हो ।

आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट अर्थात् आज यो पर्व मनाउने गरिन्छ ।

जनकपुरधामका मुस्लिम समुदायले पनि आज ईद पर्व धूमधामका साथ मनाउँदैछन् ।

त्यसैगरी आज नै मिथिला क्षेत्रका हिन्दू अक्षय त्रितीया मनाउँदैछन् । भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौँ र चनाको सातु एवं चिसो पानीको सर्वत खुवाउँदै आज महोत्तरीसहितका मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाइँदै छ ।

वैशाख शुक्ल त्रितीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौँ र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने हिन्दू मैथिल परम्परा छ ।

यस पर्वमा गर्मीले आकुल–व्याकुल भएका पथिक बटुवालाई शीतलता दिने जौँ र चनाको सातु, सख्खर, चिसो पानीमा बनाइएको सर्वत र मिष्ठान्न परिकार खुवाएमा अक्षय (कहिल्यै नास नहुने) पुण्यप्राप्त हुने मैथिल (मिथिलावासीकोे) जनविश्वास रहेको छ ।

पर्वमा गरिब र अभाव भोगी, खेपी रहेकालाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहितै दान गर्ने परम्परासमेत रहेको मिथिला परम्पराका ज्ञाता महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका सहप्राध्यापक ध्रुव रायले जानकारी दिए ।

अक्षय त्रितीया पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबहरूलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गरे कहिल्यै भण्डार खाली नहुने भविष्य पुराणमा उल्लेख रहेको बर्दिवास–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता महेशकुमार झाले बताए ।

गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिबद्र्धक अन्न जौँको सातुको प्रयोगमा अक्षय त्रितीया पर्वले जोड दिएको छ ।

सुख र समृद्धिको प्रतीक हुनका साथै यो पर्वले स्वास्थ्य सन्देश दिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.विधानचन्द्र झाको भनाइ छ । पर्वले मौसमानुसार पुष्टिवद्र्धक भोजन गर्न सन्देश दिनसँगै दिनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देससमेत दिएको पाका मैथिल बताउँछन् ।

पर्वमा कुल पुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्ठान्न खाद्य परिकार र दक्षिणा दिएर आफू र परिवारले जीवनमा शीतलताको कामना गर्दै जौ चनाको सातु र सर्वत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ ।

भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्रासन र विवाहलगायतका शुभकार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मैथिल मान्यता छ । हिन्दू र इस्लाम परम्पराका पर्व एकै दिन पर्दा दुवै समुदायमा आज खुसी र उमङ्ग छाएको छ । सरकारले इस्लाम परम्पराको मुख्य पर्व इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।