जनकपुरधाम–२५ का कांग्रेस उम्मेदवार साहद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

जनकपुरधाम, २० बैशाख । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२५ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका चन्देश्वर साहले आफू निर्वाचित भए वडाको चौतर्फि विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो १८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै साहले आफू निर्वाचित भए वडाको समग्र विकासमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् ।
साहले आफू निर्वाचित हुँदा मिसन र भिजनका साथ वडाको विकास गर्नुका साथै भ्रष्टाचारमुक्त गर्ने, सरकारी विद्यालयलाई उच्च शिक्षास्तरको बनाउने प्रतिबद्धता जनाए ।
उनले आफू निर्वाचित भए वडामा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले स्वास्थ्य तर्फ २४ घण्टे एम्बुलेन्स सेवा, वर्थिङ सेन्टर र प्रसुति केन्द्र सञ्चालनका लागि स्वास्थ्य चौकीमा करारको कर्मचारी भर्ना गर्ने, औषधीको नियमित आपूर्तिको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
आफू गाविस अध्यक्ष रहेको समयमा गाउँमा विभिन्न विकास निर्माणका कामहरु गरेको भन्दै उनले भने, ‘म निर्वाचित भएपछि यस क्षेत्रमा गरिबी अन्त्यका लागि काम गर्छु । यसका लागि यहाँ कृषि क्षेत्रमा बढी काम गर्नुपर्छ । कृषिमा काम भए यहाँको गरिबी आफै अन्त्य हुन्छ ।’
साहले किसानका लागि सिँचाईको व्यवस्था, नाला सरसफाइ गराई प्रत्येक खेतमा पानी पुर्याउने व्यवस्था गर्ने, बाँकी रहेको सबै कृषि सडकको निर्माण गरी सञ्चालनमा ल्याउने, किसानलाई मलखादको सरकारी मुल्य अनुसार व्यवस्था गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।
साहले स्वास्थ्य, कृषि लगायतका बाहेक धार्मिक स्थलहरुको सौन्दर्यीकरण, सार्वजनिक पोखरीको सौन्दर्यीकरण, शमशान घाटलाई बाउन्ड्री लगाई व्यवस्थित बनाउने, वडाको सम्पूर्ण सडकलाई नाला सहित पक्की ढलान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले आफ्नो वडालाई सफा, स्वच्छ र सुन्दर वडा बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत जनाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


