आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

जनकपुरधाम, २० बैशाख । आज विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै विश्वभर मनाइँदै छ ।
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ ।
युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।
प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न प्रकारका दमनको सामना गरेका सञ्चारकर्मीहरूप्रति सम्मान व्यक्त गर्दै राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले पनि मंगलबार जनकपुरधाममा प्रभातफेरी गरि विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको हो ।
महासंघको भवनबाट नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाको नेतृत्वमा निस्केको प्रभातफेरी रामचोक, जनकचोक हुँदै जानकी मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै अध्यक्ष झाले अहिले चुनावको बेला भएकाले आचारसंहिताको पूर्ण पालना गरी मर्यादित पत्रकारित गर्ने कुरामाथि जोड दिइन् ।
आचारसंहिता विपरीत कुनै पनि दल तथा उम्मेदवारको प्रचारप्रसार गर्ने पत्रकारलाई महासंघले कारबाही गर्ने उनले चेतावनीसमेत दिइन् ।
चुनावमा उम्मेदवार बनेका पत्रकारहरुले आग्रह गर्दा पनि स्वेच्छापूर्वक महासंघको सदस्यबाट राजिनामा नदिएकाले तिनीहरुको सदस्या खारेजी गर्ने उनको भनाइ छ ।
प्रभातफेरीमा महासंघ धनुषा शाखाका निवर्तमान अध्यक्ष अनिल मिश्र लगायत धनुषाका पत्रकारहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


