जनकपुरधाम, १९ बैशाख । जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार शिवशंकर साह हिराले जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हिराले जनकपुरधाममाका मठ मन्दिरलाई व्यवस्थित गरेर पर्यटकहरुलाई आकर्षित गर्ने ढंगले यहाँको चौतर्फि विकासका लागि आफूले योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

सोमबार घरदैलोको क्रममा जनकपुरधाम उपमहानगरपालिका–१२ कुवास्थित कुपेश्वरनाथ महादेवको दर्शन पश्चात मतदाताहरुसंँग कुरा गर्दै हिराले आफू नगरप्रमुखमा निर्वाचित भए जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकासका लागि पहल गर्ने बताए ।

हिराले सामुदायिक विद्यालय र कलेजलाई स्मार्ट स्कूल र कलेजको रुपमा रुपान्तरण गर्ने आफ्नो लक्ष्य रहेको बताए ।

उनले भने, ‘वडा वडामा निःशुल्क एम्बुलेन्स क्लिनिक संचालन गरिने छ । क्लिनिकमा उपचार सहित निःशुल्क प्याथलोजीको व्यवस्था रहनेछ ।’

उनले जनकपुरधामको पौराणिक एवं ऐतिहासिक मन्दिरहरु मध्ये एक कुपेश्वरनाथ मन्दिरलाई समेत व्यवस्थित गर्नतर्फ कुवाका मतदाता समक्ष वचनवद्धता व्यक्त गरे ।

यसअघि यहाँ शिक्षा स्वास्थ्यको नाममा लाखौँ करोडौँ रुपैयाँको भ्रष्टाचारी भएको भन्दै हिराले आफू निर्वाचित भएपछि जनकपुरधाम उपमहागरपालिकालाई भ्रष्टाचारमुक्त बनाएरै छोड्ने बताए । भ्रष्टाचारमुक्त अभियानको शुरुवात उपमहानगरको कार्यालयबाटै गरिने उनको भनाइ थियो ।