जनकपुरधाम, १९ बैशाख । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुरधाम विमानस्थलमा नेपाली सेना परिचालन गरिएको छ ।

यसअघि विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा आइतबारदेखि सुरक्षाको जिम्मा जिम्मा नेपाली सेनालाई दिइएको हो ।

विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले स्थानीय तहको निर्वाचनमा विमानस्थलमा खटिरहेका नेपाल प्रहरीका सुरक्षाकर्मीहरुलाई चुनावमा खटनुपर्ने भएकोले तत्कालका लागि उनीहरुलाई पठाएर नेपाली सेनाको जिम्मा दिइएको बताए । निर्वाचनको सुरक्षामा खटेका सुरक्षाकर्मी नफर्केसम्म नेपाली सेनाले नै विमानस्थलको सुरक्षा गर्ने उनले बताए ।

नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ जना नेपाली सेना विमानस्थलको सुरक्षामा खटेका छन् । एक्सरे मेसिन तथा विमानस्थलमा बडी सर्चका लागि महिलाका लागि महिला प्रहरी र पुरुषका लागि पुरुष प्रहरी खटेका छन् । यस्तै भिआइपीहरुको लिस्टीङका लागि एकजना नेपाल प्रहरी खटेको र बाँकी सबै जबान नेपाली सेनाकै रहेको विमानस्थल प्रमुख कुँवरले बताए ।