मिथिला नगरपालिकामा एमालेको चुनाव परिचालन कमिटीको बैठकमा विवाद

जनकपुरधाम, १८ बैशाख । धनुषाको मिथिला नगरपालिकामा बसेको नेकपा एमालेको चुनाव परिचालन मूल कमिटीको बैठकमा विवाद भएको छ ।
आइतबार लालगढमा बसेको बैठकमा निवर्तमान मेयर हरिनारायण महतो पक्षधरका असन्तुष्ट कार्यकर्ताले चर्को विरोध गरेपछि हात हालाहालको अवस्था सिर्जना हुँदा बैठक स्थगित गरिएको हो ।
पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठ बैठकस्थलमा पुगेपछि हरिनारायण पक्षका समर्थकहरूले तनाव उत्पन्न गर्दा विवाद भएको बताइएको छ ।
नेता महासेठ त्यहाँ पुगेपछि महतो पक्षका असन्तुष्ट कार्यकर्ता उनीमाथि कालोमोसो दल्नेसम्मको हुकर्त गर्ने प्रयास गरेपछि विवाद भएको बैठकमा सहभागी एक नेताले बताए ।
एक नेताले भने, ‘टिकटमा चलखेल गर्ने महासेठ किन कमिटीको बैठकमा आए, कालोमोसो दल्नुपर्छ भन्दै महतो पक्षका कार्यकर्ताहरुले विरोध गर्न थाल्दा विवाद उत्पन्न भयो ।’
उनले पार्टीले कमजोर उम्मेदबार उठाएको भन्दै हात हालाहालको अवस्था सिर्जना भएपछि बैठक स्थगित भएको जानकारी दिए ।
एमाले नगर कमिटी, प्रदेश क्षेत्रले प्रमुख पदको उम्मेदवारका लागि हरिनारायणको एकल नाम सिफारिस गरेको थियो । तर, उनलाई पाखा लगाएर मनोनयन दर्ताको अन्तिम दिन राजाराम महतोलाई टिकट दिइएको थियो ।
हरिनारायणले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनको नामका लागि गरिएको सिफारिसको ठाउँमा राजारामको नाम राखेर पुरानै मितिमा निर्णय गर्न खोजेपछि विवाद भएको नगर कमिटी सदस्य कामेश्वर महतोले बताए ।
चुनावको तयारीका लागि रामकुमार महतोको संयोजकत्वमा एमालेले मिथिला नगरपालिकामा ५०१ सदस्यीय चुनाव परिचालन मूल समिति गठन गरिसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


