जनकपुरधाम, १८ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका निरज कुमार साह (मुन्ना)ले घरदैलो अभिायनलाई तीव्रता दिएका छन् ।

वडामा घरदैलोका लागि निस्केका निरजले आफू निर्वाचित भए वडाको आवश्यकता अनुसार योजना बनाएर चौतर्फि विकासका लागि काम गर्ने बताएका हुन् ।

नेपाली कांग्रेसले जनकपुरधामको २५ वटै वडामा खडा गरेको वडाध्यक्षको उम्मेदवारहरुमध्ये सबैभन्दा युवा उम्मेदवारको रुपमा रहेका निरजले वडामा शिक्षा, स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

उनले आफ्नो वडामा भ्रष्टाचार हुन नदिने, सरकारी विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

निरजले वडाभित्रको मठमन्दिर, पोखरी, मस्जीद सौन्दर्यीकरण गर्ने, प्राथमिक स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टर बनाउन पहल गर्ने, सार्वजनिक जग्गालाई भूमाफियाबाट संरक्षण गर्ने, वडाबासीको एक एक समस्यालाई समाधान गर्ने, लामखुट्टे रहित वडा बनाउनेलगायतका प्रतिबद्धता समेत जनाए ।