जनकपुरधाम, १८ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार शिवशंकर साह हिराले आफू निर्वाचित भए सय दिनभित्रै डम्पिङ्ग साइटको निक्र्यौलय लगाउने दावी गरेका छन् ।

नगरप्रमुखमा उम्मेदवारी दिएका हिराले आफू निर्वाचित भए डम्पिङ्ग साइटको व्यवस्थापन गर्नेतर्फ पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले भने, ‘जनकपुरधामका लागि फोहोर व्यवस्थापन ठूलो समस्या रहँदै आएको छ, सय दिन भित्रै डम्पिङ्ग साइटको व्यस्थापन गरेर देखाउँछु ।’

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ मुजेलियामा आइतबार घरदैलोका लागि पुगेका हिराले जनकपुरधामलाई सफा, स्वच्छ र हराभरा बनाएर देखाउने बताए । यसअघि फोहोर व्यवस्थापनको नाममा करोडौं रुपैयाँको भ्रष्टाचार भए बताउँदै उनले जनकपुरधाम उपमहागरपालिकाका भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

उनले वडा वडामा सरसफाइको साथै लामखुट्टेमुक्त जनकपुरधाम निर्माण गर्न आफूले पहल गर्ने बताए । साथै ट्राफिक व्यवस्थापन तथा एक वर्षभित्र प्रत्येक वडामा एम्बुलेन्स सहित निःशुल्क मोहल्ला क्लिनिक सञ्चालन गर्ने जसमा उपचार सहित निःशुल्क प्याथलोजीको व्यवस्था रहनेछ । तीनवर्ष भित्रै यहाँका सामुदायिक विद्यालय र कलेजलाई स्मार्ट स्कूल र कलेजको रुपमा रुपान्तरण गर्ने आफ्नो लक्ष्य रहेको हिराले बताए ।

हिराले आफूले नगरको विकासका लागि बनाएका योजनाहरु तिन चरणमा पूरा गर्ने लक्ष्य लिएको जानकारी दिए ।