आम रूपमा हेर्दा गठबन्धन सफल भएको कांग्रेस प्रवक्ता महतको दाबी

काठमाडौं, १८ बैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा तालमेल सफल भएको बताएका छन् ।
आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले कतिपय ठाउँमा स्थानीय अवस्थाअनुसार तालमेलमा असन्तुष्टि देखिए पनि आम रूपमा हेर्दा गठबन्धन सफल भएको बताएका हुन् ।
उनले बागी उम्मेदवार पार्टी निर्णयको पक्षमा आउने विश्वास व्यक्त गरे । ’गठबन्धनले देशलाई ठीक बाटोमा अगाडि बढाइरहेको छ भन्ने महशुस सबैले गरेका छन् र हामीले पनि गरेका छौँ । एकाध स्थानीय तहमा देखिएका असन्तुष्टिलाई बृहत्तर कुराले सबै साथीहरूले ढिलो, चाँडो बुझ्नु हुनेछ । जहाँ बिद्रोही उम्मेदवार केही ठाउँमा हुनुहुन्छ, ती साथीहरूले आधिकारिक पार्टीले, गठबन्धनले तय गरेको उम्मेदवारको पक्षमा आउनु हुनेछ भन्ने हामीलाई विश्वास लागेको छ’ उनले भने ।
प्रवक्ता महतले पछिल्लो रिपोर्टअनुसार नेपाली कांग्रेसको देशभरमा ३० हजार ६२८ जनाको उम्मेदवारी परेको बताए । जसमध्ये मेयरमा २६५ जना, गाउँपालिका अध्यक्षमा ३७२ जना, उपमेयरमा १९४ जना, गाउँपालिका उपाध्यक्षमा ३४० जना, वडा अध्यक्षमा ६ हजार ४३ जना, महिला सदस्यमा ५ हजार ९३८ जना, दलित महिला सदस्यमा ५ हजार ६९१ जना र अन्य दुई सदस्यको हकमा ११ हजार ९८८ जनाको उम्मेदवारी रहेको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


