जनकपुरधाम, १८ बैशाख । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको बर्दिबास नगरपालिका–७ किसाननगरका सन्जीव श्रेष्ठ रहेका छन् ।

शनिवार साँझ ढल्केवर—जनकपुरधाम सडकखण्डमा मिथिला नगरपालिका–२ नक्टाझिजमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

ढल्केबरबाट जनकपुरधामतर्फ आउँदै गरेको प्रदेश २–०२–००२प ३०५३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।