पर्सा, १८ बैशाख । प्रहरीले पर्सामा मालबाहक ट्रकबाट लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्रकका चालक मकवानपुरको हेटौडा–११ बस्ने ४५ वर्षीय पूर्णबहादुर मोक्तान र सहचालक हेटौडा–४ का राज भुलन रहेका छन् ।

मकवानपुरबाट पर्साको भेगतर्फ जाँदै गरेको ना ३ ख ६३८४ नम्बरको मिनी ट्रक , वीरगन्ज महानगरपालिका वडा नम्बर–३० लालपर्सास्थित लिटिल फ्लावर स्कुल नजिकै प्रहरीले रोकेर चेकजाँच गर्दा ट्रकमा दुईवटा बोराभित्र लुकाएर राखिएको ६ पोकामा रहेको ५३ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

डीएसपी खनालका अनुसार मकवानपुरको ग्रामीण भेगबाट ल्याइएको गाँजा पर्साको ग्रामीण भेगका नाका हुँदै भारत तस्करी गरेर लैजाने क्रममा प्रहरीले बरामद गरेको हो ।