सर्लाही, १८ बैशाख । सर्लाहीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ ।

हरिपुर नगरपालिका–१ मुक्तेश्वर सामुदायिक वन स्थित बागमती सिँचाइको नहरमा रौतहटको गुजरा नगरपालिका ५ बस्ने ३१ वर्षीय विष्णुसिंह घिसिङको हत्या गरिएको हो ।

घिसिङको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शनिबार साँझ शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

रातिनै घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको उनले बताए ।

घटनाको अनुसन्धान र अपराधमा संलग्नहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।