जनकपुरधाम, १८ बैशाख । जनकपुरधाममा ५ जनाको ज्यान जाने गरी गराइएको बम विस्फोट घटनाको आज १० वर्ष पूरा भएको छ।

२०६९ साल वैशाख १८ गते आजकै दिन जनकपुरको रामानन्दचोकमा विस्फोट भएको थियो।

मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना बसेको बेला विहान करिब ११ बजे सुनियोजित ढंगले गराइएको बम विष्फोटमा ५ जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।

बम विस्फोटमा मिनापकी दिग्गज कलाकार रंजु झा सहित झगरु मण्डल, विमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो।

बम विस्फोट घटनाका मुख्य योजनाकार मानिएका पूर्वसांसद संजयकुमार साहसहितले जन्मकैदको सजायमा कारागार जीवन बिताइरहेका छन् भने घटनामा संलग्न रहेको आरोपमा मुकेश चौधरी, राजन मुक्ति लगायत आधा दर्जन अभियुक्तहरु समेत दोषी करार दिइएको थियो ।

१०औं बलिदानी दिवसमा मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले नेपालको संघीय संरचना प्रदेशको आधारमा बने पनि राजनीतिक दलहरूको कुमानसिकताका कारण मिथिलालाई स्थापित नगरिएको बताए।

उनले भने, ‘उनीहरुको सपना थियो, मिथिला मैथिलीको पहिचानसहित संघीय संरचनामा मिथिला राज्य कायम होस्। तर, मधेसीयाहरुको राजनीतिक नंगटोइ, कुटनीतिक खचरैय (बदमासी) का कारण षडयन्त्रपूर्वक रोकियो ।’

भाषा, माटो र सँस्कृतिको लागि लडेको यो विश्वमै दोस्रो आन्दोलन हो, पहिलोपटक बंगलादेशमा यस्तो आन्दोलन भएको थियो भने विश्वमै दोस्रोपटक जनकपुरधाममा भएको इतिहास छ।

२०६९ साल वैशाख १८ गते बिहान करिब ११ बजे जनकपुरको रामानन्दचोकमा भएको बम विस्फोट प्रकरणमा जिल्ला अदालत धनुषाले दोषी करार दिँदै पूर्व राज्यमन्त्री सन्जय साहलाई जन्मकैदको फैसला सुनाएको थियो।

जिल्ला अदालतमा २०७६ चैत १४ गते न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।