जनकपुरधाम, १७ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ को वडाध्यक्ष पदकी उम्मेदवार बिन्दु ठाकुरले पदलाई भन्दा लक्ष्यलाई ठूलो ठानेर आफूले उम्मेदवारी दिएको बताएकी छन् ।

वडा नम्बर–४ लाई नमूना वडाको रूपमा विकास गर्ने उद्देश्यले पदलाई भन्दा लक्ष्यलाई ठूलो ठान्दै वडाध्यक्ष पदको उम्मेदवार बन्ने निर्णय गरेको ठाकुरले बताएकी हुन् ।

उनले पार्टी अध्यक्ष तथा शीर्ष नेतृत्व तहले आफूलाई विश्वास गरेको भन्दै आभारसमेत व्यक्त गरेकी छन् ।

उनले भनिन्, ‘तमलोपाले मलाई विश्वास गरेर वडाध्यक्ष पदका लागि जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन युवा, महिला, सामाजिक, साँस्कृतिक अभियन्ता लगायत सम्पूर्ण वडाबासीहरूको भावना र सबैको प्रतिनिधित्व हुने गरी युवाहरूलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठानेकी छु । यो मलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर पार्टीले म जस्ता क्रियाशील नेतृहरू, म जस्ता दक्ष महिलाहरु, सामाजिक, साँस्कृतिक अभियन्ताहरु सबैलाई गरेको सम्मान हो ।’

अहिले वडाध्यक्ष पदको उम्मेदवार बन्दै गर्दा मात्रै होइन तपाईहरूकै माया र आर्शीवादले निर्वाचन जितेर आउँदै गर्दा पनि म तपाईंहरूले ममाथि गरेको विश्वास र भरोसालाई कुठाराघाट नगर्ने उनले बताइन् । उनले मतदाताको शीर कहिल्यै पनि झुक्न नदिने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् ।

उनले आफू निर्वाचित हुँदा मिसन र भिजनका साथ वडाको विकास गर्नुका साथै वडालाई भ्रष्टाचारमुक्त बनाउने र सरकारी विद्यालयलाई उच्च शिक्षास्तरको बनाउने प्रतिबद्धतासमेत जनाइन् ।

उनले आफू निर्वाचित भइसकेपछि आफ्नो वडालाई सफा, स्वच्छ र सुन्दर वडा बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत जनाएकी छन् ।

को हुन् बिन्दु ठाकुर ?

महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीबाट राजनीतिको शुरूवात गरेकी बिन्दु ठाकुर मधेश आन्दोलनमा अग्रभूमिकामा रही आन्दोलन गर्ने चर्चित महिला हुन् ।

जूनबेला महिलाहरु आन्दोलनमा घरबाहिर जानबाट हिचकिचाउँथिन् त्यस्तो समयमा उनी अधिकार प्राप्तिका लागि सड़क संघर्षमा उत्रेकी थिइन् । विगतको चुनावमा उनको पनि नगर उपप्रमुख बन्ने चाहना थियो । तर, टिकट पाउन सकिनन् । पूर्व राजपाले टिकटमा जलझेल गरेर आफूलाई बाईकट गरेको उनको आरोप छ ।

बिन्दु अहिले बृषेशचन्द्र लाल नेतृत्वको तमलोपाकी केन्द्रीय सदस्य छन् । उनले आफूले यसपाली आफ्नो वडाबासीका लागि सेवा गर्ने मौका पाएकोले निर्वाचन सहजै जित्ने दाबी गरिन् ।

‘अहिलेको समयमा महिला पनि नेतृत्वमा आउनु जरुरी छ । महिलाहरु अधिकारका लागि आन्दोलन गर्न सक्छन् भने सेवाको पदमा किन जान सक्दैनन्, उनको प्रश्न छ ?’