जनकपुरधाम, १७ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालबाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ को वडाध्यक्ष पदका उम्मेदवार सुनिल श्रेष्ठ (सानू)ले आफू विजयी भए वडालाई पूर्णरुपले भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शनिबार वडा नम्बर–१२ स्थित प्रगतिनगर टोलमा घरदैलो कार्यक्रममा मतलाताहरुसँग मत माग्दै श्रेष्ठले आफू वडाध्यक्षमा विजयी भए आफ्नो वडालाई भ्रष्टाचारको दुर्गन्धबाट मुक्त गराउने बताएका हुन् ।

उनले आफ्नो वडालाई सफा, स्वच्छ र हराभरा वडाको रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए । श्रेष्ठले वडाबासी सम्पूर्ण मतदाताको भावनालाई कदर गरेर अघि बढने योजना पनि सुनाए ।

उनले भने, ‘मेरो पहिलो प्रतिवद्धता भनेको सुशासन हो । घर भित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन । त्यसकारण मेरो पहिलो प्राथमिकता वडाभित्रको सुशासन हुन्छ ।’

श्रेष्ठले आफू निर्वाचित भए वडाको चौतर्फि विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू निर्वाचित हुँदा मिसन र भिजनका साथ वडाको विकास गर्नुका साथै भ्रष्टाचारमुक्त गर्ने, वडाभित्रको मठमन्दिर, पोखरी, मस्जीद सौन्दर्यीकरण गर्ने, प्राथमिक स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टर बनाउन पहल गर्नेेलगायतका प्रतिबद्धता समेत जनाए ।