जनकपुरधाम, १७ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार मनोज चौधरीले आफू विजयी भएमा भ्रष्टाचारमुक्त उपमहानगर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

चौधरीले आफू मेयरमा विजयी भएमा जनकपुरधाम उपमहानगरपालिकालाई भ्रष्टाचारको दुर्गन्धबाट मुक्त गराउने बताएका हुन् ।

उनले जनकपुरधामलाई सफा, स्वच्छ र हराभरा नगरको रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए । चौधरीले सबै मतदाता र जनकपुरधामबासीको भावनालाई कदर गरेर अघि बढने योजना पनि सुनाए ।

उनले भने, ‘मेरो पहिलो प्रतिवद्धता भनेको सुशासन हो । घर भित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन । त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ । त्यसका लागि मैले भ्रष्टाचारमुक्त उपमहानगरपालिका बनाउनु पर्नेछ ।’

मनोजले जनकपुरधाम हिन्दुहरुको आस्थाको केन्द्र रहेकाले आफू निर्वाचित भए विश्वभरीका हिन्दुहरुलाई जनकपुरधामसँग जोड्नका लागि योजनावद्ध रुपमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

जनकपुरधाममा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकोले यहाँका मठ मन्दिरलाई व्यवस्थित गर्नुका साथै सौन्दर्यीकरणमा जोड दिनु आवश्यक रहेको उनले बताए ।