जनकपुरधाम, १७ बैशाख । धनुषाको लक्ष्मिनीया गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका अजय यादवले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

लक्ष्मिनिया गाउँपालिका–३ भंगहा र बनिनियामा शनिबार घरदैलोका लागि पुगेका यादवले आफूलाई पूरै गाउँपालिकाको वस्तुस्थिति जानकारी रहेकाले यहाँको विकासका लागि आफूले राम्ररी काम गर्न सक्ने दावी गरेका हुन् ।

उनले भने, ‘मलाई गाउँपालिकाको विकास कसरी गर्न सकिन्छ, त्यो मसँग खाका छ, मलाई एक पटक अवसर दिएर हेर्नुस ।’ यादवले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायत सबै क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफु जिते गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने, पालिका भित्र ‘समान शिक्षा र सुलभ स्वास्थ्य उपचार सबैका लागि’ अभियान, कक्षा ८ देखि प्राविधिक क्षिक्षाको शुरुवात, प्रत्येक वडामा स्मार्ट शौचालयको स्थपना, पालिकामा रहेका अतिविपन्न परिवारको पहिचान गरि रासन वितरण गर्ने कार्यक्रम लागु गर्ने लगायतका प्रतिबद्धता जनाए ।

वृद्ध वृद्धाहरुलाई समयमै सामाजिक सुरक्षा भत्ता सुलभ ढंगले पाउन सक्ने वातावरणको निर्माण गर्नेसमेत यादवले बताए ।