जनकपुरधाम, १७ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका उम्मेदवार शिवशंकर साह हिराले जनकपुरधामलाई धार्मिक पर्यटकीय शहरको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जनकपुरधाम हिन्दुहरुको आस्थाको केन्द्र रहेकाले आफू निर्वाचित भए विश्वभरीका हिन्दुहरुलाई जनकपुरधामसँग जोड्नका लागि योजनावद्ध रुपमा काम गर्ने हिराले प्रतिवद्धता व्यक्त गरेका हुन् ।

जनकपुरधाममा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकोले यहाँका मठ मन्दिरलाई व्यवस्थित गर्नुका साथै सौन्दर्यीकरणमा जोड दिनु आवश्यक रहेको उनले बताए । उनले जनकपुरधाममा यसअघि मठ मन्दिरको जग्गा अतिक्रण हुनुका साथै भ्रष्टाचार समेत भएकाले त्यसलाई निर्मूल पार्न आफूले काम गर्ने बताए ।

जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुर र वडा नम्बर–७ मा उपप्रमुखको उम्मेदवार रुना झासँगै घरदैलोमा पुगेका हिराले ग्रामीण वडाहरुको विकासका लागि विशेष पहल गर्ने दाबीसमेत गरे ।

उपप्रमुख पदकी उम्मेदवार झाले उपप्रमुखको अधिकार क्षेत्र अन्तर्गत रहेको न्यायिक समितिलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरिन् । उनले पालिकाहरुमा कानूनी ज्ञानको अभावमा न्यायिक समितिहरु प्रभावकारी हुन नसकेकाले त्यसलाई प्रभावकारी बनाएर जनतालाई न्यायको प्रत्याभूति गराउने हरसम्भव प्रयास गर्ने बताइन् ।