सर्लाही, १७ बैशाख । सर्लाही प्रहरीले लागूऔषध कोडिवेलसहित तीनजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–१२ गमरियाका ३२ वर्षीय राम बिनय राय, ३१ वर्षीय जुमराति बैठा र २५ वर्षीय भुनेश्वर साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो पर्सा तथा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटेको प्रहरीको संयुक्त टोलीले तिनीहरुलाई नियन्त्रणमा लिएका छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीका अनुसार हरिपुर नगरपालिका–६ स्थितमा मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको बा ५४ प ७९९४ नम्बरको मोटरसाइकलबाट रायको साथबाट कोडिवेल सय एमएलको १८६ बोतल बरामद गरेको र रायसँगै भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुबैजनालाई नियन्त्रणमा लिइएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।