ट्राफिक प्रहरी धनुषाले ९ महिनामा गरे १ करोड ४६ लाख राजस्व संकलन

जनकपुरधाम, १७ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले चालु आर्थिक वर्ष २०७८/०७९ को ९ महिनामा १ करोड ४६ लाख राजस्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा ट्राफिक नियम उल्लंघन गरी चलाउने १७ हजार ५५० सवारी साधनमाथि कारबाही गरी १ करोड ४६ लाख ७४ हजार राजस्व संकलन गरेको हो ।
पूर्वपश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा ट्राफिक जाँच बढाएकाले ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनमाथि कारबाही गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए ।
यस्तै चालु आर्थिक वर्षमा धनुषाको विभिन्न सडक खण्डमा भएको १ हजार ५५ सवारी दुर्घटनामा परी ८० ले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापरबाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढेको प्रहरी निरीक्षक यादवको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


