जनकपुरधाम, १६ बैशाख । जनकपुरधाम उपमहानरपालिकाको नयाँ नेतृत्वका लागि नेकपा एमालेबाट मेयर पदका लागि उम्मेदवारी दिएका शिवशंकर साह (हिरा) ले जनताको सेवा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर–२४ स्थित बसहियामा शुक्रबार आयोजना गरेको घरदैलो अभियानमा पुगेका साहले आफू निर्वाचित भएपछि २४ औं घण्टा जनताको सेवामा लागिरहने प्रतिबद्धता जनाएका हुन् ।

उपप्रमुखको उम्मेदवार रुना झासँगै घरदैलोमा पुगेका हिराले स्थानीय निर्वाचनसम्म दलहरुबिच सामान्य आपसी कटुता रहेपनि निर्वाचन पश्चात कुनै कटुता नराखेर सेवाभावले काम गर्ने धारणा राखे ।

हिराले नगरभित्रको प्रत्येक वडामा सरसफाइ अभियान सञ्चालन गर्नुका साथै लामखुट्टे मुक्त जनकपुरधाम निर्माण गर्न पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।

हिराले आफू निर्वाचित भएको एकसय दिनभत्र डम्पिङ्ग साइटको व्यवस्थापन गर्नुका साथै ट्राफिक व्यवस्थापन तथा एक वर्षभित्र प्रत्येक वडामा एम्बुलेन्स सहित निःशुल्क मोहल्ला क्लिनिक सञ्चालन गर्ने आफ्नो योजना रहेकोसमेत सुनाए ।

तीन वर्ष भित्रै यहाँका सामुदायिक विद्यालय र कलेजलाई स्मार्ट स्कूल र कलेजको रुपमा रुपान्तरण गर्ने आफ्नो लक्ष्य रहेको हिराले बताए । हिराले आफूले नगरको विकासका लागि बनाएका योजनाहरु तीन चरणमा पूरा गर्ने लक्ष्य लिएको बताए ।

उपप्रमुख पदकी उम्मेदवार रुनाले आफू निर्वाचित हुँदा उपप्रमुखको काम कर्तव्य पूर्ण रुपमा पालन गर्ने बताइन् । उपप्रमुखसँग कयौँ अधिकार रहेपनि जानकारी अभावमा पछिल्लो स्थानीय निर्वाचनमा जितेका उपप्रमुखहरुले त्यसको सदुपयोग गर्न नसकेको उनले बताइन् ।