जनकपुरधाम, १६ बैशाख । घुससहित पक्राउ परेका मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल कुमार झाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ ।

झाले जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग घुस वापत ५ लाख मागेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुर अन्तर्गत ५ लाख बिगो कायम गरि अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

जग्गा सम्बन्धी हक सफा मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले झालाई जनकपुरधामको भानुचोकबाट गत चैत २८ गते अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

झामाथि ५ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन समेतको मागदावी लिई शुक्रवार विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।