जनकपुरधाम, १६ बैशाख । धनुषाको मिथिला नगरपालिकामा पुनः दोस्रो कार्यकालका लागि नेकपा एमालेबाट मेयर पदमा बागी उम्मेदवारी दिएका निवर्तमान नगरप्रमुख हरिनारायण महतोले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

अन्तिम समयमा नेकपा एमालेले मिथिला नगरपालिकामा राजाराम महतोलाई मेयरको टिकट दिएपछि हरिनारायणले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका थिए ।

उम्मेदवारी फिर्ता लिने विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालयले बोलाएपछि उनी फिर्ता लिन राजी भएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले तपाईंको व्यवस्थापन गर्छु भनेपछि आफूले उम्मेदवारी फिर्ता लिएको महतोले बताए ।

यसअघि नेकपा एमाले नगर समितिको बैठकले पुनः दोस्रो कार्यकालका लागि हरिनारायण महतोको नाम एकल सिफारिस गरेको थियो । तर, अन्ततः राजाराम महतोले टिकट पाउन सफल भएका थिए ।

पूर्व रियलस्टेट व्यावसायी राजाराम २०७४ को निर्वाचनमा नेपाली काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका थिए । जसकारण एमालेबाट हरिनारायणलाई चुनाव जित्न सहज भएको थियो ।

राजारामलाई हरिनारायणले नै पहल गरेर केही वर्षअगाडि एमालेमा प्रवेश गराएका थिए ।