काठमाडौं, १६ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले निर्वाचनको मजाक हुनेगरी सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन् ।

नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भएपनि सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको आरोप लगाएका हुन् ।

शुक्रबार काठमाडौंमा पार्टीको स्थानीय तह चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सत्तारुढ दलहरु चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने भन्ने प्रश्न समेत गरे । देश र दुनियाँले नबुझ्ने गरी सत्तारुढ दलहरुले गठबन्धन बनाएर चुनावमा गएको नेता महतोको भनाई थियो ।

उनले भने, ‘जनतासँग मजाक भईरहेको छ । यहाँका ठूलाबडा पार्टीहरुले जनतासँग गठबन्धन भनेर मजाक गरेको हो । यो चुनाव भनेको जनताले आफूले रोजेको पार्टीलाई भोट दिने होईन ? विभिन्न पार्टीप्रति आफ्नो अभिव्यक्ति दिने हो । निर्वाचन त्यसका लागि गरिन्छ । यहाँ गठबन्धन भनेर कुन पार्टीको कुरा आईरहेको छ ? सरकारी पार्टीहरुले जुन गठबन्धन गरेका छन, त्यो कुन पार्टीको मान्यता हो ? कुन पार्टीको मत भनेर जनताले बुझ्ने हो । देश र दुनियाँले के बुझ्ने हो ?’

नेता महतोले दलीय सिम्टममा दलहरु आफैं निर्वाचनमा जाने भएकाले आफ्नो पार्टीले गठबन्धन गरेर जाने विषयलाई महत्व नदिएको तर्क गरे । उनले स्थानीय तहमा आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गरेर जाने निर्णय गर्ने अधिकार स्थानीय पार्टीलाई दिइएको पनि उल्लेख गरे ।