कांग्रेसले टिकट नदिएपछि विराटनगरका मेयर पराजुलीले दिए राजीनामा

विराटनगर, १४ बैशाख । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनी ०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।
यसपटकको निर्वाचनमा पनि उनले टिकट दाबी गरेका थिए । पार्टीले मेयरको टिकट नदिएपछि उनी असन्तुष्ट बनेका थिए । मेयर पराजुलीले बुधबार ‘नैतिकताको आधारमा राजीनामा दिएको’ उल्लेख गरेका छन् ।
पराजुलीले बुधबार महानगरमा राजीनामा पत्र बुझाएका हुन् । निर्वाचन कार्यक्रम सुरू भइसकेको अवस्थामा मेयरको जिम्मेवारीमा रहिरहनु उचित नहुने भएकाले नैतिकताका आधारमा राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।
विराटनगरमा गठबन्धनबाट कांग्रेसकै नागेश कोइरालाले मेयरको टिकट पाएका छन् । पराजुलीले राजीनामाको मुख्य कारण नैतिकता उल्लेख गरे पनि पनि टिकट वितरणको असन्तोषका कारण कार्यकाल बाँकी रहँदै पद छाडेको बताइएको छ ।
०७४ को स्थानीय निर्वाचनमा कांग्रेसको कोइराला समूहको पहलमा उनले टिकट पाएका थिए । १४औँ महाधिवेशनमा शेखर समूह छाडेर उनी संस्थापन समूहमा प्रवेश गरेका थिए ।
पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएका कोइराला पछिल्लो समय कृष्णप्रसाद सिटौलानिकट भनेर चिनिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


