जनकपुरधाम, १४ बैशाख । जनकपुरधाममा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवारले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जसपाबाहेकका दलका नेता कार्यकर्ताहरुको उपस्थिती देखिएन् ।

गठबन्धनले जनकपुरधामको नगरप्रमुखमा जसपाको तर्फबाट लालकिशोर साहलाई र उपप्रमुखमा नेपाली कांग्रेसको तर्फबाट किशोरी साहलाई उम्मेदवार बनाएको हो ।

यहाँ गठबन्धन भित्रका सबै दल एकजुट हुने बताइरहँदा बुधबारको पत्रकार सम्मेलनमा भने गठबन्धनभित्रकै दल कांग्रेसको तर्फबाट उपमेयर पदका उम्मेदवार किशोरी साहबाहेक अन्य कुनै नेता कार्यकर्ताहरु उपस्थित थिएनन् ।

यसअघि उम्मेदवारी दर्ताका दिन पनि दुबै दलका उम्मेदवारहरुले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका थिए । यस्ता गतिविधिहरुले गठबन्धनभित्र बाह्य सहमति रहेपनि आन्तरिक रुपमा फूट रहेको स्पष्ट बुझिन्छ ।

जनकपुरधामको हकमा भने केन्द्रीय गठबन्धनले यहाँको नगरप्रमुख जसपालाई दिने सहमति गर्दा कांग्रसको नगरसमितिले त्यसको विरोधसमेत जनाएको थियो । गठबन्धनको निर्णय सच्याउन माग गर्दै नगरसभापति मनोज साहले २४ घण्टे अल्टिमेटम दिएका थिए तर पार्टीले निर्णय नसच्याएपछि उनले साधारण सदस्य समेत नरहेनगरी पार्टीबाट राजीनामा दिँदै मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराईसकेका छन् ।

स्थानीय सरोज साहले यो गठबन्धन जनकपुरधामको हकमा अपवित्र रहेको आरोप लगाए । उनले केन्द्रीय गठबन्धनको निर्णय मान्नुपर्ने अवस्था कम्तिमा उम्मेदवारहको हकमा आवश्यक रहेपनि पार्टीहरु भित्रको आन्तरिक कलह र असन्तुष्टिका कारण यस्तो भएको हुनसक्ने दाबी गरे ।

आजको पत्रकार सम्मेलनमा जसपाबाहेक गठबन्धनभित्रका अन्य दलका उम्मेदवार किन उपस्थित भएनन् भन्ने प्रश्नमा कांग्रेसबाट उपमेयरका उम्मेदवार किशोरी साहले यो गठबन्धनको शुरुवात रहेको र अहिले यहाँ जिल्ला, क्षेत्र, नगर तथा वडामा गठबन्धनको बैठक नै बस्न नसकेकोले यस्तो भएको बताए ।