सप्तरी, १४ बैशाख । सप्तरीमा विवाह समारोहमा डिजे बजाउने विषयमा विवाद हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खडक नगरपालिका–४ पंसेराका २७ वर्षीय सन्तलाल पासवान रहेका छन् ।

सोमबार राति एक समूहको कुटपिटबाट पासवानको उपचारको क्रममा बुधवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

युवकको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाले सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गको कल्याणपुर–कडरबोना खण्डमा बिहान १० बजेदेखि सडक अवरुद्ध गरेका छन् ।

डीएसपी काफ्लेले कुटपिटमा संलग्न भएको आरोपमा एकजनालाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । अन्य आरोपीहरुको खोजी भइरहेको उनले बताए ।