सर्लाही, १३ बैशाख । सर्लाहीको मलंगवास्थित एक घरमा आगलागी हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको छ ।

मलंगवा नगरपालिका–१० स्थित नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा मंगलबार बिहान ४ बजेको समयमा भएको आगलागीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर १५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

विद्युत् चुहावट हुँदा घरमा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

घरमा सुतिरहेको समयमा आगलागी हुँदा ठूलो क्षति भएको पीडित मल्लिकले बताए ।

आगलागीबाट सरसामान जलेपनि पक्की घर भएका कारण र स्थानीयवासीले मिलेर समयमै आगो नियन्त्रणमा लिएपछि थपक्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।