जनकपुरधामबाट नक्कली मदिरा सहित दुईजना पक्राउ

जनकपुरधाम, १३ बैशाख । धनुषा प्रहरीले जनकपुरधामबाट विभिन्न ब्राण्डको नक्कली मदिरा सहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ बस्ने ४३ वर्षीय गणेश साह र वडा नम्बर–११ बस्ने चन्दन कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।

सोमबार साँझ करिब साढे ७ बजेडीएसपी क्षेत्रीको नेतृत्वमा खटेको प्रहरी टोलीले जनकपुरधाम–४ स्थित गणेश साहको घरमा रहेको मदिरा उत्पादन गर्ने कारखानामा छापा मारेर विभिन्न ब्राण्डका नक्कली रक्सी, आन्तरिक राजश्व विभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हा, ग्यास सिलिण्डर, स्प्रिटको बोतलहरु, रक्सी प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी, आन्तरिक राजश्व कार्यालयले प्रयोग गरिसकेको स्टिकरको पछाडिको कागजलगायतका सामानहरु फेला पारेको छ ।

यस्तै नक्कली रक्सी ओसारपसार गर्न ना ४ च ५९४३ नम्बरको पिकअप गाडीमा मदिरा लोड गरिएको अवस्थामा पिकअप सहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले पिकअप सहित सिग्नेचर लेखिएको मदिरा ९ कार्टुन, खुल्ला रक्सी १ कार्टुन, स्प्रिट ६ कार्टुन, ब्लु डाईमण्ड १ कार्टुन, डार्क फोरेस्ट रक्सी १ कार्टुन, भट्टीचुलो १ थान, ग्यास सिलिण्डर १ थान र भारतिय रकम १३ हजार ३० गरी कुल ३१ लाख ७९ हजार ६५८ रुपैयाँ बराबरको सामान बरामद गरि आन्तरिक राजश्व कार्यालय जनकपुरधाममा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


