जनकपुरधाम, ११ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि निर्माण व्यवसायी बलराम महतोले गत चैत २६ गते पत्रकार सम्मेलनको आयोजना गरि जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

महतोले आफ्ना समर्थकको उपस्थितिमा जनकपुरधाम उपमहानगरको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । सोही पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर–३ का क्षेत्रीय प्रतिनिधि लक्ष्मण महासेठले पनि बलरामसँगै मञ्चमा बसेका थिए ।

महतोले आफू कुनै राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमै मेयर पदका लागि उम्मेदवार रहेको पत्रकारहरुसमक्ष जानकारी गराएका थिए । उम्मेदवारी घोषणा गर्दै उनले राजनीतिक दलबाट निर्वाचित मेयरबाट नगरको दिगो विकास र समृद्धि नहुने भएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रस्ट पारेका थिए ।

महतोले ‘पार्टीको नेता हैन, स्थानीय विकासमा समर्पित जनसेवकलाई चुनौं’ भन्ने नाराका साथ आफू चुनावी मैदानमा होमिएको पनि बताए । समर्थकहरुले पनि उनलाई साथ दिएका थिए ।

तर, केही दिन नबित्दै मनोनयन दर्ताको पूर्वसन्ध्यामा महतोका समर्थकहरुले धमाधम उनको साथ छोड्न थालेका छन् । महतोले उम्मेदवारी घोषणा गरेका दिन उनलाई साथ दिएका महासेठले एक विज्ञप्ति जारी गर्दै उनको साथ छोडेको जनाएका छन् ।

महासेठले आफू पनि निर्माण व्यवसायी रहेकाले व्यवसायीक कारोबारको सिलसिलामा रमन टावरमा पुगेको बेला महतोले अचानक आफ्नो नाम आसन ग्रहणका लागि घोषणा गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘म त्यस दिन त्यहाँ पुग्दा उनको उम्मेदवारी घोषणा भइरहेको थियो । अचानक मेरो नाम आसन ग्रहणका लागि घोषणा गरेकाले मञ्चमा केही थाहा नपाएर बसेको थिएँ । पछि मात्र उनको उम्मेदवारी घोषणाको कार्यक्रम रहेको थाहा पाएँ ।’

महासेठले परिबन्धमा परेर हुन गएको उक्त घटनाक्रमले संगठनप्रतिको प्रतिबद्धता र निष्ठामाथि नै प्रश्न उभिएको हुँदा विज्ञप्तिमार्फत सबैलाई जानकारी गराउँदै आफू नेपाली कांग्रेसको सिद्धान्त, आदर्श, नीति र निर्देशनविपरित पार्टीलाई आँच आउन नदिने प्रतिबद्धताका साथ सोही पार्टीभित्र रहेको स्पष्ट गरे ।

कुनैपनि राजनीतिक दलले उम्मेदवारीको टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका बलराम महतोका व्यवसायीक समर्थकहरुले समेत उनको साथ क्रमशःरुपमा छाड्न थालेका छन् ।