जनकपुरधाम, ११ बैशाख । जनकपुरधाममा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले आज फेरि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२५ लोहनाका कांग्रेस वडासभापति मो. कमरूदिनसहित सम्पुर्ण कार्यसमितिले पार्टीबाट राजीनामा दिएका हुन् ।

उनिहरुले वडाध्यक्षका लागि स्वतन्त्र रूपमा मो. कमरूदिनको उम्मेदवारीको घोषणासमेत गरेका छन् ।

आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि कमरूदिनले पार्टीमा इमान्दार र सक्रिय रूपमा काम गरिरहे पनि पार्टीले आफूलाई टिकट नदिँदा सम्पुर्ण समितिको सहयोगमा स्वतन्त्र रूपमा वडा नम्बर–२५ को वडाध्यक्षा उम्मेदवारीको घोषणा गरेका छन् ।

उनले पार्टीको विधान अनुसार पठाइएको नामावलीलाई लत्याएर नाम सिफारिस नै नभएका व्यक्ति चन्देश्वर साहलाई उम्मेदवार घोषणा गरेकोले यसकोविरुद्ध वडा नम्बर–२५ को कार्यसमितिले संयूक्त रूपमा राजीनामा दिएको बताए ।

यसअघि नेपाली कांग्रेसका जनकपुरधाम नगरसभापति मनोज साहले पनि गठबन्धनको तर्फबाट उपमहानगरको मेयर पद जसपाको भागमा दिएपछि पार्टी नेतृत्वपंक्तिप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट राजीनामा दिएर नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरिसकेका छन् ।