काठमाडौं, ११ बैशाख । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध ७ किलो सेतो हेरोइनसहित पक्राउ परेका दुई विदेशी नागरिकलाई सार्वजनिक गरेको छ ।

ब्यूरोले आइतबार पत्रकार सम्मेलन गर्दै अवैध लागुऔषध ७ किलो सेतो हेरोइनसहित पक्राउ परेका विदेशी नागरिकलाई सार्वजनिक गरेको हो । गत वैशाख ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिकाको जोहान्नसवर्गबाट दोहा हुँदै काठमाडौं आएकी वर्ष ३५ की जेम्बियन नागरिक कपुतुला अभिषरागलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

निजले ल्याएको सुटकेसभित्र फ्लस बटम बनाए लुकाएर ल्याएको अवस्थामा ७ किलोग्रम लागु औषध सेतो हेराईन प्रहरीले बरामद गरेको थियो । त्यस्तै उक्त लागु औषध लिन आएकी केइफाङ्ग मिजोराम ठेगाना भएकी वर्ष ३५ की भारतीय नागरिक लालनुनपुईलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

लागुऔषध कारोबारमा संलग्न दुवै महिलालाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागुऔषध सेतो हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक जीवनकुमार श्रेष्ठले बताए । उनले निजहरुको साथबाट बरामद ७ केजी सेतो हिरोइनको अन्दाजी बजार मूल्य १४ करोड रहेको बताए ।

प्रहरी उपरीक्षक श्रेष्ठले हुलाकबाट आउने गरेका सामानमा समेत लागुऔषध भित्रिन सक्ने भन्दै अनुसन्धानलाई तीव्रता दिएको बताए ।

उनले यसै क्रममा गत वर्षको ११ फागुनमा हुलाकका कार्यालय डिल्लीबजार काठमाडौं इएमएस शाखामा बेलायतबाट पठाएको कार्टुन बक्समा ४.४१८ केजी तौल बराबरको साना चकलेटहरू रहेको र चकेलटमा गाँजा तथा चरेशहरु पाइएको र त्यसको बरामद गरी कन्ट्रोल डेलिभरी गर्ने क्रममा पर्साका २२ वर्षीय राज शिखर गुप्तालाई पक्राउ गरिएको बताए ।

निजसँगको अनुसन्धानमा जर्मनबाट पठाइएको अर्को कार्टुन बक्स फेला परेको र त्यसमा ५ सय वटा नाम नखुलेको एम्फेटामिन ट्याब्लेट्स फेला परेको बताए । निजलाई पुर्पक्षका लागि थुनामा राखिएको समेत प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।