जनकपुरधाम, १० बैशाख । केही दिन अघि मात्र नेकपा एमालेमा प्रवेश गरेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ का निवर्तमान वडाध्यक्ष शिवकुमार साह (शिवु) नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार नेपाली कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियारले साहलाई पार्टी प्रवेश गराएका हुन् ।

साह आफ्ना केही समर्थकहरुसहित शनिबार एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी करिव एक हप्ता अगाडि एमालेमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गरेपश्चात सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै साहले आफू दवावमा आएर केही दिनअघि मात्र एमाले प्रवेश गरेको बताए । उनले आफू पुनः आफ्नो पूरानो घरमा फर्केको प्रतिक्रिया दिए ।

उनले भने, ‘कांग्रेसलाई सवल र एकजुट भई अगाडि बढाउने उद्देश्यका साथ म पुनः आफ्नो पूरानो घरमा फर्किएको छु । अब यसलाई नै अगाडि बढाउने छु ।’

पार्टीका जिल्ला सभापति योगेन्द्र पजियारले आसन्न निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकामा उपमेयरसहित अधिकांश वडामा कांग्रेसका उम्मेदवारहरु जित्ने दाबी गरे । उनले आगामी दिनमा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार निर्माण हुनेसमेत उनले दाबी गरे ।

साहलाई पार्टी प्रवेश गराउन कांग्रेसका क्षेत्रिय सभापति, जिल्ला सभापति, नगर उपसभापतिलगायतका नेताहरुले पहल गरेका थिए ।