काठमाडौं, १० बैशाख । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट उठ्ने महानगर र उपमहानगरको उम्मेदवारको टुंगो लगाएको छ ।

देशैभरका ६ महानगरमध्ये समाजवादीले भाग पाएको पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवार टुंगो लगाएको हो ।

यस्तै ११ उपमहानगरमध्ये समाजवादीले पाएको हेटौंडाको मेयर सहित इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा उठ्ने उम्मेदवारको टुंगो लगाइएको समाजवादीका एक नेताले बताए ।

पोखरा महानगरपालिकामा धनराज आचार्यलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय भएको ती नेताले बताए । पोखराको मेयरका लागि ६ जनाको नाम सिफारिस भएपनि अन्तिममा आचार्यलाई सिफारिस गरेको हो । काठमाडौंको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

श्रेष्ठलाई उम्मेदवार बनाएको सार्वजनिक गरेमा विवाद हुने भएकाले नाम भने गोप्य राखिएको छ । आइतबार श्रेष्ठले काठमाडौंको उपमेयरमा उम्मेदवारी दिने ती नेताको दाबी छ ।

यस्तै हेटौँडा उपमहानगरपालिकाको मेयरमा मीना लामालाई उम्मेदवार बनाउने निर्णय भएको छ भने बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगरको उपमेयरमा जोगबहादुर राना, इटहरी उपमहानगरपालिको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।