मलाई नेता बन्नु छैन, जनकपुरधामबासीको सेवक भएर काम गर्न चाहन्छु : बैद्यनाथ साह

जनकपुरधाम, १० बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि असहाय संरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ साहले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
साहले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन ।
स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका साहले आफू विगत १५ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आईरहेकोले जनकपुरधामवासीले आफूमाथि विश्वास गरेर मत दिने विश्वास व्यक्त गरेका छन् ।

उनले काठमाडौँ पछि जनकपुरधामलाई दोस्रो ठुलो पर्यटकीय स्थल बनाउन सकिने बताउँदै आफू जितेपछि यहाँका विभिन्न पोखरी एवम् मठमन्दिरलाई सौन्दर्यीकरण गर्ने दाबी गरे ।
उनले भने, ‘आफ्नो भिजनले म जनकपुरधामलाई पर्यटकीय क्षेत्र बनाउन सक्छु । यहाँको फोहोर व्यवस्थापन गर्न सक्छु । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न र युवालाई रोजगारी सिर्जना गर्न मसँग थुप्रै योजनाहरु पनि छन् । त्यसलाई कार्यानव्यनमा ल्याउन नेतृत्व तहमा पुग्न आवश्यक छ ।’
साहले आफू नेता नभई सेवक रहेको र जनकपुरधामबासीको सेवा गर्नका लागि आफ्ना लागि नेतृत्वमा पुग्न आवश्यक रहेको जिकिरसमेत गरे ।

उनले विगतमा पनि आफूले जनकपुरधामबासीका लागि थुप्रै सेवामूलक कामहरु गरेको बताए । कोरोना महामारीको समयमा पनि करिव ५ हजार घरमा राहत वितरण गरेको स्मरण गर्दै साहले जनकपुरधामबासी आफ्नो कामसँग प्रभावित रहेकोले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘मलाई नेता बन्नु छैन, जनकपुरधामबासीको सेवक भएर काम गर्न चाहन्छु ।’

यसअघि जनकपुरधामको नगरप्रमुखका लागि निर्माण व्यवसायी बलराम महतो र नेपाली कांग्रेसका नगरसभापतिबाट राजीनामा दिएका मनोज साहले स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आइतवार र सोमबार उम्मेदवारीको समय निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


