चितवन, ९ बैशाख । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पदबाट राजीनामा दिएकी छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । उनको राजीनामा उपमेयर ठकुरीले स्वीकृत गरेकी छन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी हुन् ।

पाँच दलीय गठबन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ । ११ र १२ वैशाखमा उम्मेदवारहरुले मनोनयन दर्ता गराउने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

२०७४ सालमा पनि रेणुले कांग्रेसको साथ पाएपछि भरतपुर महानगरपालिकामा मेयर पदमा निर्वाचन जितेकी थिइन् । उनले त्यति बेला ४३ हजार १ सय २७ मत ल्याएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए ।

यसपटक नेकपा एमालेले भरतपुर महानगरपालिकामा मेयर पदमा विजय सुवेदीलाई उठाउने निश्चित भइसकेको छ । मेयरमा उम्मेदवारी दिने भएकलो सुवेदीले प्रदेश सभा सदस्यबाट राजीनामा दिइसकेका छन् ।